KathaHamro
Story of the journey
  • Home
  • Blog
    • Voice
    • Travel
    • Poem
    • Struggle
    • Projects
  • Student
  • Season
    • contemplation
    • Kooky
    • Self Reflection
  • Magazine
मेरो अस्तित्व म कि मेरो थर?
17 Jul 2020

Student Story, Student

0

मेरो अस्तित्व म कि मेरो थर?

मेरो नाम श्रुति विश्वकर्मा (नाम परिवर्तन) तर म मेरो नाम पनि ढुक्कसँग लिन सक्दिन। बाहिर कसैले "तिम्रो नाम के हो?" भनि प्रश्न गर्दा "श्रुति" मात्र भन्छु, विश्वकर्मा जात जोड्ने हिम्मत हुँदैन। यदि जोडीहालेँ भने ए! वि. क पो रहेछौ, सानो जातको रहेछौ.... आदि इत्यादि कुरा चल्छ जुन मलाई पटकै मन पर्दैन।

म मेरो बुबा, आमा, दिदी र दुई भाइसँग लमजुङ जिल्लामा अवस्थित एउटा सानो गाउँमा बस्छु। मेरो गाउँमा धेरै पहिले देखि नै जातजातिमा भेदभाव हुँदो रहेछ, माथिल्लो जात र तल्लो जात भनेर । म चाहिँ तल्लो जातमा पर्दो रहेछु। विभिन्न जात जाति भएको मेरो गाउँमा गुरुङ जातिको बाहुल्यता छ। गाउँ राम्रो भएकोले पर्यटकहरू हाम्रो गाउँमा आउँछन्, घुम्छन्, बस्छन्, खान्छन्। निकै राम्रो स्वागत, सत्कार गरिन्छ। उनीहरूलाई कहिल्यै उनीहरूको जात सोँधिदैन तर त्यहीँकै बासिन्दा हामीलाई अछुत व्यवहार गरिन्छ। हामीलाई गाउँको गुरुङको घरमा समेत जाने अनुमति छैन, बाहुन क्षेत्रीको त कुरै छोडौँ ।

शायद, हामी भन्दा जनावरले बढी सम्मान पाउँथे, जनावर जतिको पनि गनिदैन्थ्यो तर के गर्नु न त घरको आर्थिक अवस्था नै राम्रो थियो न त सामाजिक पक्षले नै सवल थियौँ। हुन त फेरि माथिल्लो जात भन्नेहरूको पनि साह्रै राम्रो आर्थिक अवस्था थिएन। तर पनि हामीलाई भन्ने गर्थे कि दलितले यो गर्नुपर्छ, त्यो गर्नुहुन्न। कहिले काहीँ त मन साह्रै दुख्थ्यो र रुन्थे पनि, किन दलित नै भएर जन्मिएको होला? मनमा विभिन्न प्रश्नहरू आउँथे तर को सँग सोध्नु? उत्तर दिने कोही थिएनन्।

आज हामी एक्काइसौं शताब्दीमा छौँ। कानुनमा लेखिए पनि जातीय भेदभावको अन्त्य अझै भएको छैन। आज पनि कत्ति आमाबुबाहरू अाफ्नो छोराले दलित वा आफ्नो भन्दा सानो जातको बुहारी भित्र्याउँछ कि र आफ्नो छोरीले दलित ज्वाइँ ल्याउँछ कि भनेर सुकुनका साथ सुत्न सक्दैनन्। मलाई यस्तै एउटा घटना याद छ। ४-५ वर्ष अघि हाम्रो नजिकै गाऊँमा एक प्रेमी प्रेमीका हुनुहुन्थ्यो। दाई गुरुङ अनि दिदी विश्वकर्मा। घरमा भन्यो भने मान्दैनन् भनेर उहाँहरूले भागेर बिहे गर्नुभएछ। केही दिन पछि परिवारले थाहा पाएर उहाँहरूलाई छुटाई दिनु भयो । गुरुङले दलितसँग बिहे गर्यो भनेर शुद्ध गराउन गुम्बामा लगी पूजापाठ पनि गराई दिएछन् । त्यसको केही महिना पछि उनीहरू फेरि अन्तै गए। केही गर्दा नि छुटाउन नसक्ने भए पछि घरमै फर्काउनु भयो। बिहे मानियो, एउटी प्यारी छोरी नि भयो तर दिदीलाई घर परिवारले अझैसम्म स्वीकार्न सकेका छैनन्।

एकदिन हाम्रो घरमा सत्यनारायणको पूजा थियो। पारि गाउँको पुजारी बा पनि बोलाइएको थियो। पूजा सुरु भयो। पुजारी बाले वेद अनुसार मन्त्रहरू पढ्दै जानु भयो, सप्पै त बुझिन मैले, तर गणेश र नारायणको साथ साथै विश्वकर्माको पनि नाम लिई पूजा सुरु गर्नुभयो। पूजा सम्पन्न भए पछि पञ्चामृत खाने बेलामा चाहिँ विश्वकर्माले यो खानु हुन्न र जनै पनि बाँध्नु हुन्न भन्नुभयो। अरू झैँ मेरो बाबा शान्त बस्नु हुनुहुन्थेन। उहाँ जङ्गिनु भयो। "अगि तपाईँले पूजा सुरु गर्नु अगि कस्को नाम लिनुभएको थियो? विश्वकर्मा देवताको पूजा गर्नुहुने तर हामी विश्वकर्मा थरले प्रसाद खानु नहुने, किन?" पुजारी बाले केही बोल्नु भएन। आफ्नै हातले पञ्चामृत दिनुभयो र हातमा जनैको डोरो पनि बाँधिदिनुभयो।

गाउँमा त यस्तो घटना कत्ति घटे कत्ति, भनेर के साध्धे। तर गुरुहरूबाट पनि? भनिन्छ नि विद्यालय ज्ञानको मन्दिर हो जहाँ कोही सानो ठूलो हुँदैनन्, सबै बराबर हुन्छन्। विद्यालयबाट नै नयाँ परिवर्तनको बिज रोपिन्छ। एक चोटि सोच्नुहोस् त त्यहाँका शिक्षकहरू जो ज्ञान दिन आउनुहुन्छ उहाँहरूबाट नै विभेद र नराम्रो व्यवहार पाउँदा कस्तो लाग्दो हो। म पढेको विद्यालयमा पढाउनुहुने आचार्य थरको एक शिक्षक हुनुहुन्छ जो पुजारी पनि हुनुहुन्छ। अाफ्नो जात प्रति निकै धेरै घमण्ड गर्नुहुन्छ। स्कुलमा प्रत्येक वर्ष हुने सरस्वती पूजाको दिन बिहानै उठि नुहाएर चोखो निधो भई मन्दिर जान्थ्यौँ। पूजाको लागि आवश्यक पर्ने पूजा सामग्री फूलपाती, भेटी लिई मन्दिर पुग्थ्यौँ। तर उहाँ हामीलाई मन्दिर भित्र पस्न दिनुहुन्थेन।अरू बेलामा पनि हामीले छोएको खानु हुन्नथ्यो । कक्षा कोठाको ४ भित्ता भित्र समानताका कुराहरू छाट्ने त्यही शिक्षक बाहिर हामीलाई जनावर झैँ व्यवहार गर्नु हुन्थ्यो। हामी बाहिर नै बसेर सरस्वती माताको आशीर्वाद लिन्थ्यौं। मलाई याद भए देखि हाम्रो दिदीहरू पनि यस्तरी बाहिर नै बसेर पूजा गर्नुहुन्थ्यो। अरू बेलामा जान पाए पनि त्यो बेला हामी बाहिरै बस्नु पर्थ्यो।

सबैले नराम्रो व्यवहार मात्र गरेका छैनन्, केही राम्रा कुराहरू नभएका चाहिँ होइनन् । त्यो पल मैले आज सम्म पनि बिर्सेको छैन आहा! कक्षा ८ को कुरो हो, मेरी एकदम मिल्ने साथी थिइन्, रसिला । उनी ठूलै जातको भएनि हामी निकै मिल्थ्यौं। एकदिन हामी उसको घरमा काम परेर गएका थियौँ। म भित्र जानु हुन्न भनेर बाहिरै बस्न लागेको थिएँ, उन्ले आएर मेरो हात समाई घर भित्र लागिन्। मैले मानेकी थिइन तर उनी भन्दै थिइन् " म तिम्रो घरमा जान हुन्छ भने तिमी पनि त मेरो घर मा आउन सक्छौ नि।" म कत्ति खुसी भएकी थिएँ त्यो दिन। म उसको घरमा छिरेॅ, मेरो पैतालाले उसको मझेरी छोयो, तर खै त उसको जात गएको? खै उसको घरको कुल देवता रिसाएका? कहाँ भयो धर्म भ्रष्ट? संसार जहीँ को तहिँ थियो , केही उलट पुलट भएको थिएन । पछि उनका परिवारले थाहा पाउनुभएछ तर उहाँहरू बुझ्ने हुनुहुदोँ रहेछ, मलाई केही भन्नु भएन। उसको सबै कुरा अहिलेसम्म राम्रै नै छ।

समाजको यो कस्तो नियम हो? जुन कुराहरू अरूले सामान्य रुपमा गर्नु पाउँछन्, त्यही कुरा हामीले किन गर्नु पाउँदैनौ ? जुन कुराहरू अरूले गर्दा सामान्य रुपमा लिइन्छ, त्यही काम, कुरा हामीले गर्दा किन आकाश फाटे सरह हुन्छ? मानिसको सबैभन्दा ठूलो गहना स्वाभिमान हो तर हामीले त्यो नै गुमाएका छौँ। किन यति धेरै असमानता भोग्नुपर्ने हामीले? केबल जात दलित हुनाले? पटक पटक बिना गल्तीको सजाय किन भोग्नुपर्ने ? शायद अरूहरू गर्व गर्छन् आफ्नो अस्तित्वमा, म किन अझै किन अाफ्नो परिचय खुलेर दिन सकेकी छैन ? तपाईँ कल्पना पनि गर्न सक्नुहुन्न हामीले, हाम्रा पुर्खाहरूले कस्तो कस्तो व्यवहार सहनु परेको होला भनेर। जातको विषयमा पटक पटक टुक्री रहेको हुन्छौँ म र सारा दलितहरू। आखिर कहिले सम्म?

 
Spread the love

Avatar

Student

→ Student

वातावरणको महत्त्व Kooky

Related Posts

खुशी अध्ययन

Story, Student

खुशी अध्ययन

KathaHamro
© KathaHamro 2021
Design by Pranay Shrestha

Recent Posts

  • धोतिको अपमान, नेपालीको अपमान हो।May 21, 2020
  • A lonely homeApril 16, 2020
January 2021
SMTWTFS
 12
3456789
10111213141516
17181920212223
24252627282930
31 
« Dec    

Search

Instagram

    Follow Us!